वीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्ड असार १५ भित्रै मुख्य सडकबाटै सञ्चालन गरिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
359
Shares
काठमाडौँ । गत असोजको विनाशकारी बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनेको वीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्डमा आगामी असार १५ गतेभित्रै मुख्य सडकको किनाराबाट यातायात सञ्चालन गर्ने गरी तीव्र तयारी गरिएको छ। वर्षायाम शुरू भएसँगै खोलामा बनाइएका अस्थायी डाइभर्सनले यात्रुलाई दुःख दिने अवस्थालाई मध्यनजर गर्दै सडक डिभिजन भक्तपुरले निर्माणाधीन मुख्य सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक बारम्बार अवरुद्ध भइरहेकाले वर्षात् अघि नै माथिल्लो मुख्य भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई गति दिइएको छ। जेठ मसान्तसम्ममा महत्त्वपूर्ण संरचनाहरू सम्पन्न भई असारदेखि सवारी साधन मुख्य सडक संरचनाकै किनाराबाट गुड्नेछन्। केही खण्डमा त अहिले नै बाढी आउँदा वैकल्पिक रूपमा माथिबाटै यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइसकिएको छ।
धुलिखेल–खावा खण्डको कुल ४ किलोमिटर लम्बाइमध्ये साढे दुई किलोमिटरमा पहिलो तहको बिटुमिनस कार्य सम्पन्न भइसकेको छ भने बाँकी डेढ किलोमिटरमा सब–बेसको काम भइरहेको छ। तर, बजारमा बिटुमिनको चरम अभाव र मूल्यवृद्धिका कारण दोस्रो तहको काम रोकिएको छ। निर्माण व्यवसायीहरूले इन्धन र बिटुमिनको मूल्य बढेकाले मूल्य समायोजनको माग गरे पनि मन्त्रालयको निर्देशन अनुसार ठेक्का सम्झौताको परिधिभित्र रहेर मात्र मूल्य समायोजन गरिने डिभिजन प्रमुख योगेशले स्पष्ट पारेका छन्। सडक विभागले नेपाल आयल निगम तथा भारतको आइओसिएलसँग सरकार-सरकार स्तरमा सम्झौता गरी बिटुमिन ल्याउने विषयमा छलफल अघि बढाएको छ। बिटुमिन उपलब्ध हुनासाथ ठेकेदार कम्पनीले यसै वर्ष चारै किलोमिटरमा अस्फाल्टको काम सम्पन्न गर्ने तयारी गरेको छ।
निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुङ्गेलका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ३० देखि ३१ प्रतिशत र वित्तीय प्रगति २४–२५ प्रतिशत पुगेको छ। यस परियोजनाको सबैभन्दा संवेदनशील मानिएको बक्सिगुना खण्डको कुल २३० मिटरमध्ये अब ७० मिटर मात्र काम बाँकी छ। आगामी ४–५ दिनभित्रै आपत्कालीन अवस्थामा माथिबाटै सवारीसाधन सञ्चालन गर्न सकिने गरी मार्ग खुला गरिने र १५ दिनभित्र सो खण्ड सुरक्षित रूपमा सञ्चालनमा आउनेछ। बाढीले तीन पटकसम्म क्षति पुर्याएर आयोजनालाई झन्डै एक महिना पछाडि धकेले पनि अहिले साइटमा पर्याप्त जनशक्ति र सामग्री उपलब्ध छन्। वर्षायामलाई मध्यनजर गर्दै विभिन्न स्थानमा कफरड्याम निर्माण गरिएकाले सामान्य बाढीले असर नगर्ने र ठुलो बाढी आएमा थप सतर्कता अपनाइने ढुङ्गेलले बताए।
विगत २०८१ असोज १२ र १३ गतेको बाढीले बगाएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर पुनर्निर्माण भइरहेको छ। पहिलो खण्डका रूपमा भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११.८ किलोमिटरमा नवकान्तिपुर लामा जेभीले काम गरिरहेको छ, जसको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी भइसकेको छ। दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशीसम्मको ८.५ किलोमिटर हो, जसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ। यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको बाँकी ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेका छन्।
पुनर्निर्माणसँगै वीपी राजमार्गको यो खण्ड अब पहिलेको साँघुरो ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडक बन्ने भएको छ। डिभिजन प्रमुख योगेशका अनुसार अब सडकको चौडाइ न्यूनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर अर्थात् किनारा रहनेछन्। शुरूवाती डिजाइनमा सानो सवारी चापको अनुमान गरिए पनि हालको उच्च सवारी चाप र आवश्यकतालाई हेरेर सडकको मापदण्ड नै परिवर्तन गरी विस्तार गर्न लागिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।