विश्वकप हेर्न नौ सय ९९ रुपैयाँ लिनु 'लुट' हो: ऐनबहादुर महर
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
190
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले फुटबल प्रतियोगिताको टेलिभिजन प्रसारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक महरले अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलसँग सम्बन्धित खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उनले ‘लुट’ को संज्ञा दिए। उनले आम नेपाली फुटबल प्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा खेल हेर्न पाउने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरे।
साथै सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए। सचेतक महरले बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे। उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानी समेत सङ्कलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताए।