arrow

प्रतिनिधि सभा

श्रमप्रतिको नकारात्मक दृष्टिकोणले मुलुक सधैँ गरिब रह्यो : हर्कराज राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
harkaraj-rai-44.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज (हर्क) राईले श्रमप्रतिको सकारात्मक धारणा र चेतना नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै अध्यक्ष राईले श्रम शक्तिले मात्रै मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई वास्तविक सम्पत्तिमा रूपान्तरण गर्न सक्ने भएकाले श्रमलाई देशव्यापी अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए।

श्रम र श्रमिकमाथि समाजले गरिरहेको विभेदप्रति कडा असन्तुष्टि र आक्रोश पोख्दै अध्यक्ष राईले भने, ‘हामी श्रम र श्रमिक भन्ने विषयसँग यति टाढा गयौँ कि हाम्रो शिक्षाले नै हामीलाई त्यस्तै बनायो। काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ, पसिना बगाउने भनेपछि हामी अल्छी मान्छौँ। काम र काम गर्ने मान्छेलाई वर्षौँ वर्षदेखि हाम्रो समाजले विभेद गरेको छ। काम गर्ने मानिसलाई कामी भनेर घरभित्र पस्न नदिने समाज अझै पूर्ण रूपमा परिवर्तन हुन सकेको छैन।’

उनले संसद्मार्फत देशवासीलाई कामलाई माया गर्न आह्वान गर्दै कर बढाउने र घटाउने खेलमा मात्रै अल्झिनुभन्दा उत्पादन बढाउन जोड दिनुपर्ने बताए। ‘हामी कसलाई कति ट्याक्स (कर) लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, दुई रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा मात्रै छौँ,’ उनले थपे, ‘तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान चलाउने, श्रम गर्नुपर्छ भन्ने शिक्षा दिने र श्रमप्रतिको सकारात्मक धारणा कहिल्यै पनि विकास गरेनौँ। फलतः हामी सधैँभरि गरिब छौँ।’

श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने र आत्मनिर्भर बनाउने हुनाले यसलाई हेय (तल्लो) दृष्टिले हेर्न नहुने उनको भनाइ थियो। अध्यक्ष राईले श्रम गर्ने र पसिना बगाउने वर्गमाथि हुने सबै प्रकारका सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्यका लागि आफूले निरन्तर अभियान नै सञ्चालन गरिरहेको समेत दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ