दमौली । तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना सकुशल फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार बाँकी चार जनाको खोजी कार्य जारी रहेको छ।
प्रहरीका अनुसार हराएकामध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक थिए। तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिकलाई प्रहरीले फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए।
परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लाका प्रहरी इकाइसँग समन्वय गरेर खोजतलासलाई तीव्र बनाइएको उनले जानकारी दिए।
त्यसैगरी, जेठ महिनामा जिल्लाभर ५१ ओटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १० ओटा जघन्य तथा गम्भीर प्रकृतिका, तीन ओटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, छ ओटा आर्थिक अपराधका र ३२ ओटा अन्य प्रकृतिका रहेका छन्। विभिन्न मुद्दामा ३७ जना प्रतिवादी पक्राउ परेका छन्।
फैसला कार्यान्वयनअन्तर्गत ११ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट चार वर्ष दुई महिनाको कैद सजाय कार्यान्वयन गरिनुका साथै दुई लाख २१ हजार रुपैयाँ बिगो तथा जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक घिमिरेले शान्तिसुरक्षा, अपराध नियन्त्रण र फरार प्रतिवादी पक्राउ अभियानलाई प्रभावकारी बनाउँदै नागरिक सुरक्षाका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताए।