काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा पनि इरान र बेल्जियमले अंक बाँडेका छन्। दुवै टोलीबीचको प्रतिष्पर्धात्मक भिडन्त गोलरहित (०–०) बराबरीमा टुङ्गिएको हो। खेलको उत्तराद्र्धमा बेल्जियम १० खेलाडीमा समेटिए पनि इरानले त्यसको फाइदा उठाउन सकेन।
खेलको २४औं मिनेटमा इरानका विङ्गर मेहेदी तोरबीले आकर्षक प्रहार गर्दै बेल्जियमको पोस्टमा बल छिराएका थिए। इरानी समर्थकहरूले खुसीयाली मनाइसकेको अवस्थामा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले सो गोलको गम्भीर जाँच गरेको थियो। जाँचका क्रममा तोरबी अफसाइड पोजिसनमा रहेको स्पष्ट देखिएपछि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्, जसका कारण इरान ऐतिहासिक अग्रता लिनबाट चुक्यो।
त्यसपछि आक्रामक बनेको बेल्जियमले इरानको पोस्टमा एकपछि अर्को कडा प्रहारहरू गर्यो। तर, इरानी गोलरक्षक अलिरेजा बेरानभान्डले उत्कृष्ट बचाउ गर्दै बेल्जियमका स्टार खेलाडीहरूलाई निराश पारे। खेलको दोस्रो हाफमा बेल्जियमका नथान एनग्योएले खराब फल गरेपछि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। बेल्जियम १० खेलाडीमा सीमित भएपछि खेलको अन्तिम समयतिर इरानले दबाब बढाए पनि गोललाइन तोड्न सकेन।
यो नतिजासँगै दुवै टोलीले विश्वकप २०२६ मा लगातार दोस्रो बराबरी खेलेका छन्। यसअघि भएको समूह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग र इरानले न्युजिल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। लगातारको बराबरीले यस समूहको नकआउट चरणको समीकरण निकै रोमाञ्चक र खुला बनेको छ, जहाँ अब अन्तिम खेलको नतिजाले मात्र कुन टोली अघिल्लो चरण प्रवेश गर्ने भन्ने टुङ्गो लगाउनेछ।