रास्वपा महाधिवेशन अस्तव्यस्त, बालेनले भनेको ट्रयाक गलत पर्यो कि ! [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
464
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
चितवन । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा अस्तव्यस्तता छाएको छ । पार्टी निर्माणको ठ्याक्कै चौथो वर्षमा शुरू भएको चुनावी महाधिवेशनले निर्धारित तालिका पछ्याउन नसकेपछि उल्टै एक दिन ढिलो गरी महाधिवेशन समापन हुने भएको छ ।
प्रतिनिधिको अपेक्षाभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको रास्वपाका सांसद तथा प्रवक्ता मनिष झाले दाबी गरे पनि भित्र चरम असन्तुष्टि भएका कारण महाधिवेशन समयमा अगाडि बढ्न नसकेको हो ।
उनले भने अनुसार शुरूमा तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भए पनि हाल चार हजार तीन सयभन्दा बढी प्रतिनिधि उपस्थित भइसकेको र यो संख्या चार हजार आठ सयसम्म पुग्न सक्ने छ ।
अर्थात् चाहँदा बढ्न सक्ने यो कुन विधि र प्रक्रियाले चलिरहेको रहेछ त भन्ने स्पष्ट हुँदै गएको छ । उनका अनुसार प्रवासबाट समेत अपेक्षाभन्दा चार गुणा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
झाले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिगत चुनौती देखिएको स्वीकार गर्दै त्यसलाई सिकाइका रूपमा लिइएको बताएका छन् । हुन पनि सिकाइ भन्दै ३५ वर्ष पुराना दलले खेर फालेको दाबी गर्दै यसअघि संसदमा कुर्लदै आएका रास्वपा नेताहरूले अब के बहाना दिउँ भनेजस्तै भएको छ ।
बिहान ८:३० बजे शुरू हुने भनिएको बन्दसत्र दिन ढल्न लाग्दासमेत शुरू नभएपछि पदाधिकारीहरू प्रचण्ड गर्मीको प्रदर्शनी हल भित्रको एसीमा आराम गरिरहेका छन् ।
आकांक्षीसमेत चरम हुँदै गएपछि अस्तव्यस्त देखिएको छ । मनिष झाले भने पार्टीभित्र सहमतिको प्रयास जारी रहेको र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी रहेको जानकारी दिए ।
हाल प्रतिनिधि दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोली परिचालन गरिएको पनि उनले बताएका छन् ।
झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बालेनको एक्सप्रेस ट्रयाक बाहिर
आइतबार महाधिवेशन उद्घाटनका क्रममा रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेनले आफूहरूको गति र काम पूर्ण रूपमा नियन्त्रणमै रहेको दाबी गर्दै गाडी कुनै स्थानीय सडक (लोकल रोड)मा नभई तीव्र गतिको ‘एक्सप्रेस वे’ मा गुडिरहेकाले चिन्ता नलिन आग्रह गरेका थिए ।
उनले भनेका थिए, "सरकार भनेको त गाडी जस्तो हो, एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ। ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता लोकल रोडहरूतिर हिँड्दा लिनुपर्ने हो, जहाँ कहिले लेफ्टबाट र कहिले राइटबाट गाडी आउँदो रहेछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन। एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। र हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ।"
यस्तो आत्मविश्वाससचित महाधिवेशनमा होमिएका बालेनको पार्टी भने यो गतिमा पुग्दा कतै उनको सरकार र पार्टीको गति ट्रयाक बाहिर त छैन ? भन्ने प्रश्न उब्जिएको छ ।