रास्वपाको बन्दसत्रमा सकस, महाधिवेशन एक दिन थपिन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
223
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले भरतपुरमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गतको बन्दसत्र व्यवस्थापकीय तथा प्राविधिक चुनौतीका कारण केही ढिलाइ भएको स्वीकार गरेका छन्। मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता झाले अपेक्षित सङ्ख्याभन्दा बढी प्रतिनिधिहरू सहभागी भएकाले व्यवस्थापनमा केही जटिलता थपिएको र यसका कारण महाधिवेशनको तालिका एक दिन थपिन सक्ने सङ्केत गरे।
उनका अनुसार प्रतिनिधिहरूको अनलाइन तथा भौतिक दर्ता, नामावली व्यवस्थापन र आवश्यक सामग्री (किट) वितरणजस्ता प्राविधिक तयारीहरू समयमै पूरा हुन नसक्दा बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भएको हो। यद्यपि, सबै कानुनी र प्राविधिक प्रक्रियाहरू पूरा गरेर मंगलबारदेखि नै बन्दसत्रलाई व्यवस्थित रूपमा अघि बढाइएको उनले प्रष्ट पारे।
महाधिवेशनमा करिब पाँच सयभन्दा बढी प्रतिनिधिहरू अप्रत्याशित रूपमा थपिएका कारण नामावली अद्यावधिक गर्ने, दाबी–विरोधको प्रक्रिया टुङ्ग्याउने र सामग्री व्यवस्थापन गर्न बढी समय लागेको हो। मुलुकका सबै प्रदेशहरूमा पार्टीको सङ्गठन निर्माणको गति समान नभएकाले पनि केही प्राविधिक समस्याहरू देखिएका हुन्।
विशेष गरी केही प्रदेशहरूमा सङ्गठन विस्तारको काम ढिलो सम्पन्न भएकाले प्रतिनिधिहरूको अन्तिम सूचीमा छुट–पुट हुन पुगेको र त्यसलाई मिलाउन समय खर्चिनुपरेको प्रवक्ता झाले स्वीकार गरे। महाधिवेशनलाई पूर्ण समावेशी बनाउन पार्टीले ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ भने छुटेका क्षेत्र र समुदायलाई समेट्न पार्टी सभापतिलाई २०० जना प्रतिनिधि मनोनयन गर्ने अधिकार र समायोजन समितिमार्फत थप १०० देखि १५० जना प्रतिनिधिहरू समावेश गराइएको छ।
रास्वपा पहिलो पटक राष्ट्रिय महाधिवेशनको अभ्यासमा रहेकाले प्राविधिक रूपमा कतिपय कुराहरू सोचेभन्दा फरक र चुनौतीपूर्ण भएको प्रवक्ता झाको भनाइ थियो। उनले आफूहरू अझै पनि सिक्ने क्रममै रहेको उल्लेख गर्दै कतिपय कुराहरू अपेक्षाभन्दा फरक भए पनि सबै साथीहरूलाई समेट्ने इमानदार प्रयास भइरहेको बताए।
लामो समय, आफ्नै खर्च र ठुलो मेहनत गरेर चितवन आइपुगेका प्रतिनिधिहरूमा व्यवस्थापकीय ढिलाइका कारण केही असन्तुष्टि देखिनु स्वाभाविक भएको टिप्पणी गर्दै उनले व्यवस्थापनको कारण कार्यक्रम केही लम्बिन सक्ने अवस्था रहेको स्पष्ट पारे।