बालेन सरकार तानाशाही र अधिनायकवादी भएको एमालेको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
216
Shares
काठमाडौँ। नेकपा (एमाले) ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति, व्यवहार र कार्यशैलीविरुद्ध प्रभावकारी ढंगले आवाज उठाउने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
उनकाअनुसार सरकारको कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन र कानूनी राज्यको मर्मविपरीत रहेको निष्कर्ष बैठकले निकालेको छ।
सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप पनि एमालेले लगाएको छ।
महरले भने, “सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ। सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख छ। यसको गतिविधि विधिको शासन र कानूनी राज्यको मूल्यमान्यताविपरीत छ। सरकार संविधान, लोकतन्त्र र राष्ट्रिय हितकै विरुद्धमा देखिएको छ।”
उनले सरकारको वर्तमान नीति र कार्यशैलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासमेत प्रभावित भएको दाबी गरे।
बैठकले सरकारका गतिविधिविरुद्ध संसदमा दृढतापूर्वक प्रस्तुत हुने प्रस्ताव पारित गरेको एमालेले जनाएको छ।