arrow

रामेछापका आठ ओटै स्थानीय तहले ल्याए बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
sunapati-gaunpalika-11-02.jpg

रामेछाप। रामेछाप जिल्लाका आठ ओटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

जिल्लाका नगरपालिका मन्थली र रामेछाप नगरपालिका तथा छ गाउँपालिका लिखुतामाकोशी, गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका हुन् ।

स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटअनुसार जिल्लामा विकास निर्माण, आधारभूत सेवा विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकासलाई विशेष प्राथमिकता दिइएको छ ।

अधिकांश स्थानीय तहले अधुरा योजनाको निरन्तरता, विपद् व्यवस्थापन, खानेपानी विस्तार तथा युवा लक्षित कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समेटेका छन् ।

जिल्लाको सबैभन्दा ठूलो बजेट मन्थली नगरपालिकाले ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख लव श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता र पर्यटन प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको बताए ।

नगरपालिकाले ‘घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गर्ने, १४ ओटै वडामा योग केन्द्र स्थापना गर्ने, किसान परिचयपत्र वितरण गर्ने तथा स्थानीय कृषि उपजको काठमाडौँसम्म बजारीकरण गर्ने कार्यक्रम अघि सारेको छ ।

रामेछाप नगरपालिकाले ८० करोड ८६ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

नगर प्रमुख लवश्री न्यौपानेले सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन, विपद् व्यवस्थापन तथा नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने नीति लिएको जानकारी दिए ।

गाउँपालिकामध्ये लिखुतामाकोशीले ७० करोड ६४ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ। पूर्वाधार विकास क्षेत्रमा मात्रै १७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र खानेपानीलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासका कार्यक्रम अघि सारेको छ ।

उमाकुण्ड गाउँपालिकाले ६३ करोड ५१ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, उद्यम विकास, खेलकुद र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेको छ ।

आधुनिक कभर्डहल निर्माण, उद्यमशीलता तालिम, वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि स्वरोजगार कार्यक्रम तथा टोल-टोलमा स्वास्थ्य सेवा पुर्याउने योजना समेटिएको छ ।

गोकुलगंगा गाउँपालिकाले ६३ करोड पाँच लाख २० हजार रुपैयाँको बजेट ल्याउँदै अधुरा आयोजनाको निरन्तरता, ग्रामीण पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा डिजिटल प्रविधि विकासलाई प्राथमिकता दिएको छ।

गाउँपालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना र आधारभूत सेवाको पहुँच विस्तारमा जोड दिने जनाएको छ ।

खाँडादेवी गाउँपालिकाले ६० करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले निर्माणाधीन खाँडादेवी अस्पतालका लागि ५५ लाख, खाँडादेवी मन्दिरसम्म सडक निर्माणका लागि ५० लाख तथा निर्माणाधीन गुम्बाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै स्थानीय स्रोत-साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

दोरम्बा शैलुङ गाउँपालिकाले ६० करोड १४ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास, पूर्वाधार निर्माण तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले सडक स्तरोन्नति, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा सुधार र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

सुनापति गाउँपालिकाले ५४ करोड ७० लाख तीन हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले सुशासन, पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको छ।

बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको व्यवस्थापन तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रमलाई विशेष महत्व दिइएको छ।

जिल्लाका सबै स्थानीय तहका नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, युवा उद्यमशीलता विकास, रोजगारी सिर्जना, खानेपानी विस्तार र पूर्वाधार निर्माणलाई साझा प्राथमिकताका रूपमा राखिएको देखिन्छ।

स्थानीय तहहरूले संघीयता कार्यान्वयनको अनुभवसँगै सेवा प्रवाह सुधार, आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

आठवटै स्थानीय तहले सार्वजनिक गरेको बजेटको कुल आकार करिब पाँच अर्ब ५६ करोड ७० लाख रुपैयाँ पुगेको छ।

यसले आगामी आर्थिक वर्षमा रामेछाप जिल्लाभर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा उल्लेख्य लगानी हुने संकेत गरेको छ।

स्थानीय सरकारहरूले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै विकासका प्रतिफल नागरिकसम्म पुर्याउन सके जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ