arrow

छ दिनदेखि रास्वपा महाधिवेशन जारी, उपसभापतिमा वाग्ले निर्विरोध, अन्यमा निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
rsp-first-general-meetings-83-3-9.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ । अन्य पदका लागि भने आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास सफल नभएमा निर्वाचन हुने भएको छ ।  

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावली विवरणअनुसार एक महिला उपसभापति पदमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी एक महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेकामा छ जनाले नाम फिर्ता लिएका छन् । 

रास्वपा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर),शिशिर खनाल र राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । 

महामन्त्रीमा विपिनकुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारमा मनिष झा, रञ्जू न्यौपाने, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्य छन् । 

दुई सहमहामन्त्री पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा रमेश प्रसार्इं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एक महिला सहमहामन्त्री पदमा जु्ली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मासहित पाँच जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत खुलातर्फ पार्टीको उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढीको उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको सो पार्टीले जनाएको छ ।

यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।

पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसीले पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको तर आयोगका तर्फबाट भने आवश्यक तयारी भइरहेको बताएका छन् । 

मतदान कतिबेला हुन्छ टुंगो छैन । 

गत असार ७ देखि महाधिवेशन जारी छ । तीन दिनका लागि भनेर गरिएको महाधिवेशनमा थप तीन दिन थप्दा पनि अझै टुंगिने छाँट छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ