रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनमा १६ सय बढी प्रतिनिधिले गरेनन् मतदान
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
196
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। शुक्रबार केही ढिलो गरी सुरु भएको मतदान प्रक्रियामा केन्द्रीय सदस्यको तुलनामा पदाधिकारीतर्फ भने मतदाताको संख्यामा ठूलो गिरावट देखिएको छ।
निर्वाचन समितिका अनुसार यसअघि केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनमा २ हजार ९५९ मत खसेको थियो। तर, जारी पदाधिकारीतर्फको निर्वाचनमा हालसम्म १ हजार १२८ मत मात्र खसेको विवरण सार्वजनिक भएको छ। यस तथ्याङ्कअनुसार केन्द्रीय सदस्य चयनका लागि मतदान गरेका प्रतिनिधिहरूमध्ये १ हजार ६७० जना प्रतिनिधिले पदाधिकारी चयनको मतदानमा सहभागिता जनाएका छैनन्।
महाधिवेशन तालिकाभन्दा बढी लम्बिएका कारण टाढा-टाढाबाट आएका केही प्रतिनिधिहरू मतदान प्रक्रिया नसकिँदै घर फर्किएको हुन सक्ने अनुमान निर्वाचन समितिले गरेको छ। सोही कारणले गर्दा नै पदाधिकारी निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा घट्न पुगेको देखिन्छ। रास्वपाले यस दोस्रो चरणको निर्वाचनमार्फत सभापति, दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी मुख्य पाँच पदाधिकारीहरू चयन गर्दैछ। निर्वाचन समितिले मतदानको समय सीमा सकिएलगत्तै गणना कार्य सुरु गर्ने तयारी गरेको छ।