आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
398
Shares
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजदेखि शुरू भएको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यतालिकाअनुसार तीन ओटै विश्वविद्यालयका उम्मेद्वारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।
यसले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यको सहभागिता सुनिश्चित गरिएको छ।
साथै, मूल्याङ्कनलाई प्रभावकारी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै आठ ओटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार यो प्रक्रिया ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत रूपमा सञ्चालन गरिएको हो।
सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो।
छनोट तथा सिफारिस समितिको जेठ १३ गतेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य उम्मेदवारहरूको आवेदन स्वीकृत गरेको थियो।
त्यसपछि आवेदनको अध्ययन तथा मूल्याङ्कन गरी अल्पसूची तयार गरिएको थियो। हाल ती उम्मेद्वारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता भइरहेको छ।
विज्ञहरूले दिएको अंकका आधारमा छनोट तथा सिफारिस समितिले योग्य उम्मेद्वारको नाम छनोट गरी सम्बन्धित विश्वविद्यालयका कुलपतिसमक्ष सिफारिस गर्नेछ।
सरकारले शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो।
समितिले विज्ञहरूको सहयोगमा मूल्याङ्कन प्रक्रिया सञ्चालन गरी अल्पसूची तयार गरेको मन्त्रालयले जनाएको छ।