गठनको छ वर्षपछि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको मस्यौदा तयार
समितिको अवधि सात वर्ष पुर्याइयो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
272
Shares
काठमाडौँ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) पूर्वाधार निर्माण विकास समिति गठन भएको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ। रक्षा मन्त्रालयले उक्त मस्यौदा तयार गरी आवश्यक परामर्शका लागि सम्बन्धित निकायहरूमा पठाइसकेको जनाएको छ।
मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरण अनुसार उक्त विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र अर्थ मन्त्रालयबाट राय/सुझाव लिई प्राप्त सहमति अनुसार संशोधन प्रक्रिया अघि बढाइएको छ। अहिले यो विधेयक आवश्यक परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी भइरहेको छ।
यसैबीच, पूर्वाधार निर्माणको कार्य अझै नसकिएका कारण नेपाल सरकारले गत वैशाख १० गते ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६’ मा छैटौँ संशोधन गर्दै समितिको कार्य अवधि थप एक वर्ष बढाएको छ। विकास समिति ऐन, २०१३ बमोजिम गरिएको यस संशोधन अघि गठन आदेशमा समितिको अवधि ६ वर्ष रहने उल्लेख भए पनि अब त्यसलाई बढाएर ७ वर्ष कायम गरिएको छ।
नेपाली सेनाको सक्रियतामा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा उच्च अध्ययन, अध्यापन र अनुसन्धान गर्ने उद्देश्यका साथ यस विश्वविद्यालयको अवधारणा अघि सारिएको हो। हाल नेपालमा सैनिक कमाण्ड तथा स्टाफ कलेज र नेपाली सैनिक वार कलेज जस्ता शिक्षण संस्थाहरू सञ्चालनमा रहे पनि नयाँ स्थापना हुने एनडीयूमा उच्च शिक्षा अध्ययनदेखि मुलुकको सुरक्षा नीति निर्माणसम्मका विषयमा गहन प्राज्ञिक अभ्यास हुनेछ। सोही विश्वविद्यालयको भौतिक, संस्थागत र कानुनी तयारी पूरा गर्नका लागि यो पूर्वाधार विकास समिति क्रियाशील रहँदै आएको छ।