एसभीपी प्रक्रियालाई तत्कालका लागि स्थगित गर्न मन्त्री यादवको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
277
Shares
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटका क्रममा द्विपक्षीय श्रम सहकार्य र नेपाली श्रमिकका समसामयिक समस्याका विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभीपी) प्रक्रियालाई तत्कालका लागि स्थगित गर्न विशेष आग्रह गरे। उक्त नयाँ प्रक्रियाका कारण साउदी जान चाहने नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित भइरहेकाले यसलाई यथावत् रूपमा अगाडि बढाउने वातावरण मिलाइदिन उनले राजदूतसँग अनुरोध गरे।
हाल साउदी अरब जाने अन्तिम तयारीमा रहेका धेरै नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सीप प्रमाणीकरण (एसभीपी) सँग सम्बन्धित प्राविधिक तथा व्यावहारिक विषयहरूलाई दुई देशबिचको आपसी परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत टुङ्गो लगाउनुपर्ने स्पष्ट पारे।
सो अवसरमा साउदी राजदूत मिएखरले नेपाली पक्षले उठाएको चासोलाई सकारात्मक रूपमा लिँदै साउदी सरकारसँग आवश्यक परामर्श गरेर यस सम्बन्धमा थप जानकारी उपलब्ध गराउने आश्वासन दिएको श्रममन्त्रीको सचिवालयले जनाएको छ।