शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ : उपराष्ट्रपति यादव
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
89
Shares
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यममात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन्।
आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणनामात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् ।
उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन। यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो। यसले भविष्यमा अझ सकारात्मकता र दृढ संकल्पसहित अघि बढ्न प्रेरणा दिन्छ।’
उनले कलेज परिवार, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै विगत २५ वर्षमा कलेजले सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान दिएको विश्वास व्यक्त गरे।
यादवले संस्कृत श्लोक ‘विद्या ददाति विनयम्’ उद्धृत गर्दै शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्ने बताए ।
उनले भने, ‘संस्कृत श्लोकमा भनिएको छ, ‘विद्या ददाति विनय’ यसको अर्थ शिक्षाले केवल ज्ञानमात्र होइन, नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व पनि दिन्छ। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको आधार हो।’
नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको आधार भएको उल्लेख गरे।
‘प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको यो युगमा हामीले हाम्रो आधारभूत मूल्य र नैतिकतासँग जोडिदै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ। युवाहरूको सफलता नै हाम्रो देशको सुनौलो भविष्यको आधार स्तम्भ हो,’ उनले भने।
उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतालाई आत्मसात् गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
शिक्षकहरूलाई राष्ट्र निर्माणका अभियन्ता भन्दै उनले शिक्षकहरूले विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेर समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको बताए।