गोरखामा अफ्रिकन स्वाइन फिभरको कहर, दुई महिनामा अढाई सय भन्दा बढी बङ्गुर मरे
खोप र उपचार नहुँदा किसान मारमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
289
Shares
गोरखा । गोरखा जिल्लामा विगत दुई महिनादेखि फैलिएको 'अफ्रिकन स्वाइन फिभर'का कारण २५० भन्दा बढी सुँगुर तथा बङ्गुर मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यो कडा संक्रामक रोगका कारण व्यावसायिक बङ्गुर पालन गरिरहेका किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। केही फार्महरू दर्ता नभएका कारण वास्तविक नोक्सानीको परिमाण योभन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार हालसम्म गोरखा नगरपालिकाका वडा नम्बर ६, ७, ८ र सहिद लखन गाउँपालिका–७ का विभिन्न फार्महरूमा यो रोग तीव्र रूपमा फैलिएको छ। संक्रमणका कारण गोरखा नगरपालिका-६ का किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् भने मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको छोटो अवधिमै सखाप भएका छन्। बाँकी अन्य क्षति जिल्लाका विभिन्न साना-ठूला फार्महरूमा भएको छ।
पशु स्वास्थ्य विज्ञहरूका अनुसार यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि भएपछि पशुहरू मर्नु निश्चित जस्तै हुन्छ। रोग लागेपछि बङ्गुरहरूमा उच्च ज्वरो आउने, खाना खान छाड्ने, झोक्राउने र शरीरको छालामा साना-ठूला रगतका धब्बा वा नीलो दागहरू देखिने जस्ता लक्षणहरू प्रकट हुन्छन् र त्यसको एक साताभित्रै उनीहरूको मृत्यु हुन्छ। यो रोग सङ्क्रमित स्थानमा आउजाउ गर्ने मानिसको लसपस, दाना, गाडी तथा औषधिको माध्यमबाट सजिलै सर्ने भएकाले जैविक सुरक्षा अपनाउनु र संक्रमित खोरको संसर्गबाट टाढा रहनु नै यसबाट बच्ने एकमात्र उपाय हो।