काठमाडौँ । मोरक्को विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा उपाधि दावेदार नेदरल्याण्ड्सलाई पराजित गर्दै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
मोरक्को पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो । पेनाल्टीको पहिलो गोल नेदरल्याण्ड्सका टेउन कुपमेनर्सले गरे । मोरक्कोका नेल एल आइनाओयुईले गोल गर्न सकेनन् ।
नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट गोल गर्न चुके । मोरक्कोका सोउफियानले रहिमीले गोल गरेर १–१ को बराबरी गरे ।
नेदरल्याण्ड्सका वोउट वेगहस्टले गोल गर्दै २–१ को अग्रता बनाए । मोरक्कोका चेम्सडाइन टाल्बीले गोल गर्दै २–२ को बराबरी गरे ।
नेदरल्याण्ड्सका क्विन्टेन टिम्बर गोल गर्न चुके । मोरक्कोका एस्रफ हाकिमी पनि गोल गर्न चुके ।
नेदरल्याण्ड्सका क्रिसेन्सिओ सुमरभिल्ले पनि गोल गर्न चुके । मोरक्कोका स्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई ३–२ ले जिताए ।
यसअघि निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी तथा त्यसपछि थपिएको ३० मिनेटमा दुवैतर्फ गोल नभएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको हो ।
निर्धारित ९० मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका थिए ।
१२० मिनेटको खेलमा मोरक्को हावी रह्यो । मोरक्कोले ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो ।
मोरक्कोले गोलका लागि पाँच ओटा प्रहार गरेकामा गोलकिपरले विफल पारेका थिए । नेदरल्याण्ड्सको भने एक प्रहार मात्र गोलकिपरले रोक्न पाएका थिए ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।