arrow

दिक्तेलमा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
murti-karyasala.jpg

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने विशेष कार्यशाला शुरूभएको छ। धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको संरक्षण एवं प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा नगरपालिकाले यो कार्यशाला आयोजना गरेको हो।

दिक्तेलस्थित शुभम् फाउन्डेसनमा शुरूभएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्तिहरू निर्माण गर्न थालेका छन्। विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बुट्टा कोरेर बनाएका यी कलात्मक मूर्तिहरूलाई धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मझुवागढीमा लगेर सजाइने नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ढुङ्गामा छिनो र मार्तलले आकृति कोरेर मङ्गलवार कार्यशालाको विधिवत् शुभारम्भ गरे। सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख राईले नगरपालिकाले चालेको यो मूर्तिकला कार्यशालाको कदम दीर्घकालीन महत्त्वको रहेको धारणा राखे।

कार्यशालामा गौतमबुद्धको अर्धकदको मूर्ति, जट्टाधारी शिवजीको अर्धकदको मूर्ति, किरात संस्कार तथा संस्कृतिसँग सम्बन्धित ढोल, झ्याम्टा, बाबु (चिन्डो) तथा धनुषवाण, र लोपोन्मुख वन्यजन्तु रेडपाण्डालगायतका कलात्मक आकृतिहरू निर्माण गरिने महाअभियानका निर्देशक नकुल सिंले बताए। पन्ध्र दिनसम्म सञ्चालन हुने यस कार्यशालामा प्राज्ञिक, वरिष्ठ मूर्तिकार, कला साधक तथा कलाकारहरूले आफ्नो मौलिक अवधारणाअनुसार मूर्त तथा अमूर्त शैलीमा कला सिर्जना गर्नेछन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारको ठूलो धनराशि लगानी भइरहेको छ। दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उकालो चढ्दा पुगिने मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित मुख्य पर्यटकीय गन्तव्य बनाउनकै लागि यो कलात्मक मूर्ति राख्ने तयारी गरिएको हो। पन्ध्रवटा वडा रहेको जिल्लाकै यो सबैभन्दा ठूलो नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै कला, साहित्य तथा सिर्जनाका क्षेत्रमा पनि रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

नगरपालिकाले यसअघि पर्यावरण संरक्षणका लागि रेडपाण्डा तथा थार महोत्सव, स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउन राष्ट्रिय बाँस सम्मेलन र चित्रकलालाई प्रवर्द्धन गर्न मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालालगायतका दूरगामी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी विभिन्न ४१ देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका मौलिक चित्रहरू सङ्कलन गरेर नगरपालिकाले सङ्ग्रहालयसमेत स्थापना गरेको छ। यसरी स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्रहालय’ को दिगो व्यवस्थापन र विकासका लागि सङ्घीय सरकारले ३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ