विश्वकप फाइनल खेलको टिकट र विलासी प्याकेजहरूले नयाँ रेकर्ड कायम
डलरको 'डाइनामिक प्राइसिङ'ले फिफा विश्वकप फाइनलको मूल्य आकासियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
317
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना भइरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम चरण नजिकिँदै गर्दा यसको फाइनल खेलको टिकट र विलासी प्याकेजहरूले नयाँ रेकर्ड कायम गरेका छन्।
खेलकुद इतिहासकै सबैभन्दा महँगो प्रतियोगिताका रूपमा हेरिएको यस विश्वकपको फाइनल खेल आगामी जुलाई १९ मा न्यू जर्सीस्थित 'मेटलाईफ रङ्गशाला' मा आयोजना हुँदै छ। अति धनाढ्यहरूलाई लक्षित गर्दै बेलायती बहुप्रतिष्ठित विलासी लाइफस्टाइल व्यवस्थापन कम्पनी 'नाइट्सब्रिज सर्कल' ले ६ वटा टिकटको एउटा प्याकेज ४० लाख अमेरिकी डलर अर्थात् झन्डै ६० करोड ४४ लाख नेपाली रुपैयाँमा बिक्री गरेको छ । जसबाट सङ्कलित सबै रकम फिफाको तल्लो तहको फुटबल विकास कार्यक्रमहरूमा खर्च गरिनेछ।
यो प्याकेज खरिद गर्ने विशिष्ट पाहुनाहरूका लागि विश्वप्रसिद्ध पूर्व फुटबल स्टार तथा प्रख्यात सञ्चारकर्मी गेरी लिनेकरसँग विशेष निजी दिवाभोजको समेत प्रबन्ध मिलाइएको छ।
यसैगरी न्युयोर्कको विलासी 'द मार्क होटल' ले पनि १० लाख अमेरिकी डलर अर्थात् करिब १३ करोड ३५ लाख नेपाली रुपैयाँ मूल्य तोकेर छुट्टै 'वर्ल्ड कप एक्स्ट्रावागान्जा' प्याकेज सार्वजनिक गरेको छ। यस प्याकेजमा होटलको भव्य पेन्टहाउस सुटमा चार रातको बसाइ, पाहुनाका निजी सहयोगी र कामदारहरूका लागि अतिरिक्त कोठाहरूको व्यवस्था, फाइनल खेलका लागि मैदानको किनारमै रहेको प्रिमियम सिट र होटलदेखि रङ्गशालासम्म आउन-जान निजी हेलिकप्टर ट्रान्सफरको सुविधा समावेश गरिएको छ।
`
रङ्गशालाभित्रै पनि फिफाको आधिकारिक हस्पिटालिटी साझेदार 'अन लोकेसन' मार्फत प्रतिव्यक्ति ३५ हजार अमेरिकी डलर अर्थात् करिब ४७ लाख रुपैयाँबाट शुरू हुने विलासी लाउन्जहरूको व्यवस्था गरिएको छ। यी लाउन्जहरूमा मैदानको ठ्याक्कै किनारमा रहेर प्रत्यक्ष सेफहरूले पकाएका खानाका परिकार र प्रिमियम पेय पदार्थको स्वाद लिँदै खेलाडीहरू नजिकै बसेर खेल हेर्न पाइने 'पिचसाइड लाउन्ज', अत्याधुनिक वातावरणमा स्थानीय स्वादका विशिष्ट परिकार पस्किने 'ट्रफी लाउन्ज' र मदिरा विशेषज्ञद्वारा निर्देशित पेय पदार्थ सेवा उपलब्ध हुने 'भीआईपी र च्याम्पियन्स क्लब' रहेका छन्।
अति धनाढ्यहरूको यो तडकभडकका बीच फिफाले यस पटक लागू गरेको 'डाइनामिक प्राइसिङ' अर्थात् माग अनुसार मूल्य घटबढ हुने प्रणालीका कारण सर्वसाधारणका लागि सामान्य टिकटको मूल्य समेत इतिहासकै महँगो भएको छ।
शुरुमा १० हजार ९९० डलर तोकिएको फ्रन्ट क्याटगोरी–१ को टिकटको मूल्य बढेर ३२ हजार ९७० अमेरिकी डलर अर्थात् करिब ४४ लाख नेपाली रुपैयाँ पुगेको छ।
त्यस्तै फाइनल खेलका लागि फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा सबैभन्दा सस्तो साधारण टिकटको मूल्य नै २ हजार ३०० अमेरिकी डलर अर्थात् करिब ३ लाख ७ हजार रुपैयाँबाट शुरू भएर अन्य टिकटहरू क्रमशः २ हजार ७९० डलर, ४ हजार २१० डलर र ६ हजार ७३० डलरमा सूचीकृत भएका छन्, जसमा माग अनुसार निरन्तर वृद्धि भइरहेको छ।
फाइनल मात्र नभई प्रतियोगिताका अन्य नकआउट चरणका खेलहरू पनि निकै महँगा भएका छन् । जहाँ फिफाको आधिकारिक एक्सचेन्ज बजारमा सेमिफाइनलको सबैभन्दा महँगो टिकट ११ हजार १३० डलर, क्वाटरफाइनलको ५ हजार ३०५ डलर र राउन्ड अफ १६ को टिकट ३ हजार ७८० डलरसम्म पुगेको छ। बढ्दो महँगीका बाबजुद विश्वभरका दर्शकहरूको उच्च चासोका कारण टिकटहरूको माग अझै चुलिँदो छ।