एन्टवर्प । बेल्जियमको एन्टवर्प सहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा धेरै जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
एन्टवर्प प्रहरीले बुधबार दिएको जानकारीअनुसार लिङ्करोभर क्षेत्रमा रहेको १० तले अपार्टमेन्ट भवनको आठौँ तल्लाबाट आगलागी शुरू भएको थियो। उक्त भवनमा दुई सयभन्दा बढी मानिस बस्दै आएका थिए।
प्रहरीका अनुसार आगलागीपछि भवन खाली गर्ने काम भएको छ। आगोबाट निस्किएको बाक्लो धुवाँका कारण आसपासका बासिन्दालाई झ्याल तथा ढोका बन्द राख्न र आवश्यक परेमा भेन्टिलेसन प्रणाली बन्द गर्न आग्रह गरिएको छ।
आगलागीको तीव्रता र फैलावटका कारण अग्निनियन्त्रकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। विशेष ड्रोन टोलीसहित अग्निनियन्त्रक र प्रहरीका विभिन्न टोली घटनास्थलमा परिचालन गरिएको छ।
आगलागीको कारण र मृतक तथा घाइतेको यकिन विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।