अमेरिका विश्वकपको प्रिक्वार्टरफाइनलमा, बोस्निया २–० ले पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
399
Shares
तस्बिर- अमेरिकी गोलकिपर माट फ्रिज उत्कृष्ट बचाउ गर्दै, एपी ।
काठमाडौँ । अमेरिका विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुगेको हो ।
अमेरिकाको लेभिस स्टेडियममा भएको खेलको मध्यान्तरसम्म अमेरिकाले १–० को अग्रता लियो । खेलको ४५ औँ मिनेटमा फोलारिन बालोगनले उत्कृष्ट गोल गर्दै अमेरिकालाई १–० ले अग्रता दिलाए ।
तर तिनै गोलकर्ता स्ट्राइकर बालोगनले मध्यान्तरपछि रातो कार्ड पाए । उनले खेलको ६१ औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिकलाई फल गरेका थिए । भीएआर माध्यमबाट हेर्दा उनलाई बालोगनले फाउल गरेको स्पष्ट देखिएपछि रातो कार्ड पाएका हुन् ।
१० जनामा समेटिएको अमेरिकाले ८२ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो । मलिक टिलमनले गोल गरेका हुन् । उनले फ्रिकिक बललाई सीधै जाली चुमाएका थिए ।
मध्यान्तरसम्म ६३ प्रतिशत बल नियन्त्रणमा लिएको अमेरिका मध्यान्तरपछि भने अताल्लिएको थियो । समग्रमा अमेरिकाले ४८ प्रतिशत र बोस्नियाले ५२ प्रतिशत बल नियन्त्रणमा लिन सक्यो ।
अमेरिकाले दुवै प्रहारलाई गोलमा परिणत गर्यो भने अमेरिकी गोलकिपर माट फ्रिजले तीन ओटा प्रहारलाई बिफल बनाएका थिए ।
बोस्नियाले दोस्रो सहभागितामा पहिलो पटक नकआउट खेलेको हो । अमेरिकाले यसपालिको सहआयोजनामा अझै अगाडि बढ्ने विश्वास लिएको छ ।
अमेरिकाले पहिलो विश्वकपमा सन् १९३० मा तेस्रो स्थान हासिल गरेको थियो भने सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको अमेरिका सन् २०२२ मा भने नकआउट चरणमा पुगेको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे, फ्रान्स, मेक्सिको र बेल्जियम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो ।