पाकिस्तान लाहोरस्थित ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, १० गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
491
Shares
लाहोर। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी ट्युसन सेन्टरको छत भत्किँदा कम्तीमा १४ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
मंगलबार लाहोर नजिकैको काहना क्षेत्रमा भएको दुर्घटनाका बेला दर्जनौँ बालबालिका ट्युसन कक्षामा अध्ययन गरिरहेका थिए। त्यही क्रममा भवनको छत अचानक भत्किएर उनीहरू भग्नावशेषमा पुरिएका थिए।
उद्धार सेवा ‘रेस्क्यु ११२२’ का प्रवक्ता फारुक अहमदका अनुसार हालसम्म १४ जनाको शव निकालिएको छ। घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेकाले भग्नावशेषमा अन्य व्यक्ति फसेको हुन सक्ने आशंका गरिएको छ।
लाहोरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) फैसल कामरानका अनुसार प्रारम्भिक अनुसन्धानमा भवनको केही भाग निर्माणाधीन रहेको र मजदुरहरूले काम गरिरहेकै बेला छत भत्किएको खुलेको छ। घटनापछि भवन निर्माणमा संलग्न ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ।
यस घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतक बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई प्रभावकारी र गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
निर्दोष बालबालिकाको ज्यान जाने यस घटनाले निर्माणाधीन भवनमा सुरक्षा मापदण्ड पालना, भवन निर्माणको गुणस्तर तथा शैक्षिक संस्थाको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्ने आवश्यकता फेरि एकपटक उजागर भएको छ।