उपत्यकामा महिलाका लागि निःशुल्क 'ब्लू बस' चल्ने, तीन रुट तय
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
619
Shares
तस्बिर फाइल
काठमाडौँ । सरकारले आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा पहिलो चरणअन्तर्गत आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सार्वजनिक भएको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूची अन्तर्गत महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा यो निःशुल्क बस सेवा सुरु गर्न लागिएको हो।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सरकारको पहिलो १०० दिनभित्र देशभर २५ वटा यस्ता बस सञ्चालन गर्ने लक्ष्य छ। यो सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय सुझाव र सहमतिका लागि पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति पाएलगत्तै साउनको पहिलो दिनबाटै उपत्यकाका सडकमा नीलो बस गुड्नेछन्।
सुरुवाती चरणमा यसका लागि तीनवटा मुख्य रुटहरू तोकिएका छन्। जसअन्तर्गत लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस चल्नेछन्। बाँकी चार वटा बस भने चक्रपथ (रिङरोड) क्षेत्रमा परिचालन गरिनेछ, जसमा दुई वटा घडीको सुई घुम्ने दिशा (क्लकवाइज) र दुई वटा विपरीत दिशा (एन्टिक्लेकवाइज) मा गुड्ने मन्त्रालयले जनाएको छ।