पश्चिम नेपालका नदीहरूमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
173
Shares
काठमाडौँ । देशका विभिन्न भागका नदी तथा खोलाहरूमा आज पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्ला भई बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। यी क्षेत्रका कतिपय खोलाहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को समेत न्यून जोखिम रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ।
यसैगरी, देशका प्रमुख नदीहरू नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
अन्य प्रमुख तथा मझौला नदीहरूमा भने पानीको बहाव सामान्य उतारचढावको अवस्थामा रहने पूर्वानुमान छ। यद्यपि, मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहेकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।