बालेन सरकारप्रति बाबुराम नतमस्तकः सय दिन पुरानो शासकीय शैली तोड्ने प्रयास
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
350
Shares
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वालेन्द्र साह नेतृत्वको नवोदित दल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारको पहिलो १०० दिनको मूल्याङ्कन आ-आफ्नो दृष्टिकोणअनुसार फरक-फरक हुन सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुरानै संसदीय राजनीतिको निरन्तरताको दृष्टिकोणबाट हेर्दा सरकारको पहिलो सय दिन खासै उपलब्धिमूलक नदेखिन सक्ने उल्लेख गरेका छन्। परम्परागत शासकीय शैलीमा परिवर्तनको प्रयासले कतिपयमा आशंका र चिन्ता उत्पन्न हुन सक्ने उनको भनाइ छ।
तर युग परिवर्तन, राजनीतिको पुस्तान्तरण तथा नयाँ पुस्ताको नेतृत्वको दृष्टिकोणबाट हेर्दा सरकारको पहिलो सय दिनलाई पुरानो शासकीय शैली तोड्ने र नयाँ अभ्यासको शुरूआत गर्ने प्रयासका रूपमा सकारात्मक ढंगले हेर्नुपर्ने भट्टराईको तर्क छ। उनले सरकारलाई केही समय ‘शंकाको लाभ’ दिन उपयुक्त हुने बताएका छन्।
भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर अर्थतन्त्र, अल्पविकसित आर्थिक संरचना तथा तीव्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दै पहिलो सय दिनलाई सिकाइको अवधिका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सय दिनका अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै सुशासन, समतामूलक समृद्धि र वैकल्पिक राजनीतिको आधार निर्माणतर्फ सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
साथै उनले नयाँ पुस्ताको बाहुल्य रहेको सरकारले आगामी दिनमा अझ बढी गम्भीरता र मेहनतका साथ काम गर्दै सफलता हासिल गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन्।
डा भट्टराईको स्टाटस्
वालेन्द्र साह नेतृत्वको नवोदित दल रास्वपाको एकल सरकारको १०० दिनबारे आआफ्नो दृष्टकोण अनुसार मूल्यांकन हुनु स्वाभाविक छ। 'फूलको आँखामा फूलै संसार,काँडाको आँखामा काँडै संसार'!
पुरानै संसदीय राजनीतिको निरन्तरताको आँखाबाट हेर्ने हो भने यी सय दिन खासै उपलब्धीपूर्ण नलाग्न सक्छन्। बरू केही परम्परागत शैली भत्किन लागेकोमा आशंका र चिन्ता लाग्नसक्छ।
तर युग परिवर्तन, राजनीतिको पुस्तान्तरण, गैरराजनीतिक नयाँ युवाहरूको बाहुल्यता लगायतको नयाँ चस्मा सहितको आँखाबाट हेर्दा यी सय दिनलाई अन्य कुराहरूका अतिरिक्त न्यूनतम रूपमा पुरानो शासकीय शैलीको ध्वंश र नयाँ शैलीको निर्माणको प्रयासको रूपमा मूलतः सकारात्मक ढंगले हेर्न सकिन्छ। अतः केही समय शंकाको लाभ दिनु नै उचित हुन्छ।
त्यसरी नै देशको जटील भूराजनीति, अत्यन्त अल्पविकसित र परनिर्भर अर्थराजनीति, तीब्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकता लगायतका गम्भीर संरचनात्मक चुनौतिहरूलाई केन्द्रमा राखेर हेर्दा चाहिं यी सय दिनलाई सामान्य सिकाइका दिन मानेर आगामी दिन अरू गम्भीरता र मेहनतकासाथ अघि बढ्नु श्रेयस्कर हुनेछ।
सय दिनका अनुभव र कमीकमजोरीहरूबाट सिक्दै सुशासन र समतामूलक समॄद्धिको दिशामा दृढतापूर्कक अघि बढ्न र भविष्यमुखी नयाँ तथा वैकल्पिक राजनीतिको आधारशिला निर्माण गर्न नयाँ युवाबाहुल्य सरकारलाई सफलताको हार्दिक शुभकामना!