arrow

केप भर्डेलाई हराउन अर्जेन्टिनालाई सकस, अतिरिक्त समयमा धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
wcf-2026-argentina-cape-verde-32.jpg

काठमाडौँ । विश्वकप फुटबलमा अर्जेन्टिना र केप भर्डे भिडिरहेका छन् । अन्तिम ३२ को खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएको छ । 

खेलको २९ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले लिसान्द्रो मार्टिनेजको पासमा सुन्दर गोल गरेका हुन् । 

योसँगै मेस्सीले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले छैटौँ सहभागितामा ३० खेलबाट २० गोल गरिसकेका छन् । 

केप भर्डेले खेलको ५९ औँ मिनेटमा डेरोए डवार्र्टेको गोलमा १–१ को बराबरी गर्यो । 

त्यसपछि निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलमा मेस्सीले गोल गर्ने थुप्रै अवसर गुमाए । उनका उत्कृष्ट प्रहारलाई केप भर्डेका गोलकिपर जोसिमार डियाज वोजिन्हाले उत्ृकष्ट बचाउ गरे । 

केप भर्डेले पहिलो पटक विश्वकप खेलिरहेको हो । सनसनी मच्याउने क्रममा केप भर्डे पहिलो सहभागितामै नकआउटमा पुगेको हो । 

केप भर्डे समूह चरणमा अपराजित रह्यो । केप भर्डेले स्पेनसँग गोलरहित बराबरी, उरुग्वेसँग २–२ को बराबरी तथा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो ।

अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
    
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १४ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए । 

३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १४ खेलबाट १४ टिम बाहिरिएका छन् भने १४ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड र इजिप्ट प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । 

त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो । 

त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो । 

त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो । 

स्वीट्जरल्याण्डले अल्जेरियालाई २–१ ले हरायो । इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ