अर्जेन्टिना विश्वकपको प्रिक्वार्टरफाइनलमा, केप भर्डेमाथि ३–२ को संघर्षपूर्ण जित
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
509
Shares
काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेमाथि ३–२ को संघर्षपूर्ण जित हासिल गर्दै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भयो । खेलको २९ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले लिसान्द्रो मार्टिनेजको पासमा सुन्दर गोल गरेका हुन् ।
योसँगै मेस्सीले जारी विश्वकपमा गोल संख्या ७ पुर्याए । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले छैटौँ सहभागितामा ३० खेलबाट २० गोल गरिसकेका छन् ।
केप भर्डेले खेलको ५९ औँ मिनेटमा डेरोए डवार्र्टेको गोलमा १–१ को बराबरी गर्यो ।
त्यसपछि निर्धारित ९० मिनेटसम्म कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
खेलको ९३ औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ ले अग्रता दिलाए ।
खेलको १०३ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल गर्दै २–२ को बराबरीमा ल्याए ।
खेलको १११ औँ मिनेटमा केप भर्डेका डिने बोर्गेजको आत्मघाती गोलमा अर्जेन्टिना ३–२ ले अगाडि भयो । योसँगै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ भने केप भर्डेले यादगार खेल खेलेको छ ।
खेलमा मेस्सीले गोल गर्ने थुप्रै अवसर गुमाए । उनका उत्कृष्ट प्रहारलाई केप भर्डेका गोलकिपर जोसिमार डियाज वोजिन्हाले उत्कृष्ट बचाउ गरे ।
केप भर्डेले पहिलो पटक विश्वकप खेलेको हो । सनसनी मच्याउने क्रममा केप भर्डे पहिलो सहभागितामै नकआउटमा पुगेको हो ।
केप भर्डे समूह चरणमा अपराजित रह्यो । केप भर्डेले स्पेनसँग गोलरहित बराबरी, उरुग्वेसँग २–२ को बराबरी तथा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १५ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए ।
३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १५ खेलबाट १५ टिम बाहिरिएका छन् भने १५ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड, इजिप्ट र अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।
त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो ।
त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो ।
त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो ।
स्वीट्जरल्याण्डले अल्जेरियालाई २–१ ले हरायो । इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।