प्रधानमन्त्रीले संसद् छोडेर पार्टीको मञ्च रोजेकोमा राप्रपाको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
254
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संसद्लाई उपेक्षा गर्दै पार्टीको मञ्चलाई बढी प्राथमिकता दिएको भन्दै आक्रोश व्यक्त गरेकी छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले कार्यपालिका संसद्प्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाइएको आरोप लगाइन्।
प्रधानमन्त्री साहले जनप्रतिनिधिहरूको साझा थलो संसद्मा आएर जवाफ दिनुको साटो आफ्नै दलको प्रथम महाधिवेशनको मञ्चमा स्पष्टीकरण दिएका थिए। सोही विषयलाई लिएर आपत्ति जनाउँदै ओलीले भनिन्, "सीमा कुनै नक्साको रेखा मात्र होइन, यो हाम्रो इतिहास, बलिदान र सार्वभौमिकतासँग जोडिएको विषय हो। यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै दिनुपथ्र्यो, तर उहाँले संसद्को सट्टा आफ्नै दलको महाधिवेशनलाई रोज्नुभयो।" प्रधानमन्त्रीको यस्तो कार्यशैलीले संसदीय लोकतन्त्रको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको उनको तर्क थियो।
सम्बोधनका क्रममा प्रमुख सचेतक ओलीले राष्ट्रिय हित र सीमा जस्तो संवेदनशील मुद्दामा सत्तापक्षका सांसदहरू लाचार र मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरिन्। "प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा पनि सत्तापक्षका माननीय सदस्यहरू किन मौन हुनुहुन्छ?," उनले संसद्मा प्रश्न गरिन्।
ओलीले देशको सार्वभौमिकता र राष्ट्रियताको सवालमा दलगत स्वार्थ र निष्ठा भन्दा माथि उठ्न सत्तापक्ष र प्रतिपक्ष दुवैलाई आग्रह गरिन्। राष्ट्रिय मुद्दाहरूमा प्रतिपक्षले खेलेको भूमिकाको मात्र नभई सत्तापक्षले देखाउने लाचारी र मौनताको पनि इतिहासले कडा मूल्याङ्कन गर्ने उनले चेतावनी दिइन्।