अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाउने संस्थामाथि मन्त्रालयको कारबाही चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
290
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायतका विदेशी शैक्षिक कार्यक्रमहरू मन्त्रालयको पूर्वस्वीकृति र अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरूको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन 'विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३' स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाहरूले मन्त्रालयको अनुमति नलिईकन यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेकाले उनीहरूलाई कानुनी व्यवस्थाबारे पुनः सचेत गराइएको हो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएको यस नियमावलीअन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका सबै शैक्षिक कार्यक्रमका लागि अब नयाँ र कडा मापदण्ड लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच, मन्त्रालयले अनुमति नलिई अवैध रूपमा विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरूबारे कुनै पनि जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना उपलब्ध गराउन सरोकारवाला तथा सर्वसाधारण सबैसँग आग्रह गरेको छ।