कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर, एक घण्टामै ३२ व्यावसायिक सटर ध्वस्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
417
Shares
मोरङ। वर्षौंदेखि अतिक्रमणमा परेको कोशी अस्पतालको बहुमूल्य सरकारी जग्गा अन्ततः खाली गराउन सोमबार बिहानै डोजर चलाइएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अन्तिम चेतावनीको म्याद सकिएलगत्तै तीन ओटा डोजर प्रयोग गरी करिब एक घण्टाभित्र ३२ ओटा व्यावसायिक सटर भत्काइएको हो।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा सञ्चालन गरेका २६ ओटा तथा अस्पतालकै स्वामित्वमा रहेका छ ओटा गरी कुल ३२ ओटा सटर हटाइएको हो।
मन्त्रालयको निर्देशनअनुसार अतिक्रमित संरचना हटाएर अस्पतालको जग्गा पुनः अस्पतालकै प्रयोजनमा प्रयोग गरिने र त्यस क्षेत्रमा कम्पाउन्ड वाल निर्माण गरी सुरक्षा व्यवस्था सुदृढ बनाइने उनले बताए।
अस्पताल प्रशासनले सात दिनअघि सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न थालेका थिए।
डोजर सञ्चालनका क्रममा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो।
एसपी कटवालले अस्पतालको जग्गा अतिक्रमण गरी व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएका संरचनामाथि कानुनी कारबाही गरिएको बताए।
उनका अनुसार अस्पतालको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अब अस्पतालको सेवा विस्तार र गुरुयोजना कार्यान्वयनका लागि उपयोग गरिनेछ।
कोशी अस्पतालको बहुमूल्य जग्गामा वर्षौंदेखि विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरी औषधि पसल, क्लिनिक तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका थिए।
अस्पतालले लामो समयदेखि ती संरचना हटाउने प्रयास गरिरहेको थियो। गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।
अस्पताल प्रशासनका अनुसार हाल व्यावसायिक सटरमात्र हटाइएको हो भने सम्बन्धित संस्थाका मूल भवनहरू भने तत्कालका लागि यथावत् राखिएका छन्।