सबै दल मिलेमात्र देश, संविधान, लोकतन्त्र बचाउन जनताको नैराश्यता हटाउन सकिन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
93
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले पछिल्लो समय आत्मदाहका घटनाले देशलाई गम्भीर रूपमा झस्काएको भन्दै अब राजनीतिक आरोप-प्रत्यारोपभन्दा राष्ट्रिय एकता र जनताको निराशा अन्त्यतर्फ सबै दल एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएको घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवारप्रति समवेदना प्रकट गरे।
सिंहले एक साताभित्र गणेश नेपाली, अश्विन राउत र विवेक मण्डल गरी तीन युवाले आत्मदाहपछि ज्यान गुमाएको उल्लेख गर्दै यसलाई सामान्य घटनाका रूपमा लिन नहुने बताए।
उनले विवेक मण्डलको उपचारका लागि सरकारले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर उपचारको प्रयास गरेको भन्दै प्रधानमन्त्री वालेन्द्र साह, रास्वपा सभापति रवि लामिछाने, सभामुख र स्वास्थ्य मन्त्रालयप्रति धन्यवाद व्यक्त गरे।
“प्रयास गर्दागर्दै पनि विवेक मण्डललाई बचाउन सकिएन। तर राज्यले उपचारका लागि गरेको पहल सकारात्मक थियो,” उनले भने।
सिंहले पछिल्ला घटनाले देशमा गहिरो निराशा फैलिएको संकेत गरेको भन्दै संसदबाट निराशा बढाउने अभिव्यक्ति नदिन सबै दललाई आग्रह गरे।
“यो देशमा बाँच्न सकिँदैन, केही गर्न सकिँदैन भन्ने सन्देश यही संसदबाट नजाओस्। देशमाथि संकट छ, जनतामा निराशा छ। यो निराशा हटाउनु हाम्रो साझा जिम्मेवारी हो,” उनले भने।
उनले सत्ता र प्रतिपक्ष स्थायी नहुने उल्लेख गर्दै राजनीतिक घोचपेचभन्दा लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखे।
“राज्य रहे, जनता रहे र लोकतन्त्र रहे फेरि हामी राजनीति गरौँला। आज सत्ता पक्षमा हुने भोलि प्रतिपक्षमा हुन सक्छ, प्रतिपक्षमा हुने सत्ता पक्षमा पुग्न सक्छ। तर जनता र लोकतन्त्र नै रहेन भने हामी कसैको पनि भविष्य रहँदैन,” उनले भने।
सांसद सिंहले सभामुखमार्फत संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई साझा राष्ट्रिय एजेन्डामा एकजुट हुन आह्वान गर्दै नागरिकमा बढ्दो निराशा हटाउन संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।
“सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय मुद्दा तय गरौँ। जनतामा आशा जगाऔँ। देश निर्माणको जिम्मेवारी हामी सबैको हो,” उनले भने।