सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
243
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ। संसद् सचिवालयले तय गरेको कार्यसूची अनुसार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने तयारी छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्तसम्म), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ पेस गर्ने कार्यसूची रहेको छ।
सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
यसै गरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि सदनमा छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन्।
साथै मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अर्कोतर्फ, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा भने प्रधानमन्त्री वालेन्द्र साहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने एक मात्र कार्यसूची तय गरिएको छ।