arrow

घरेलु एलपी ग्यास सिलिन्डरको डिजिटल अभिलेख बनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
rahabar-ansari-31-03.jpg

काठमाडौँ। उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार बसेको समितिको बैठकमा उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि प्रत्येक घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताए।

अन्सारीले हाल राज्यसँग घर-घरमा कति ओटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा कठिनाइ भइरहेको उल्लेख गरे।

उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी, वितरक तथा नेपाल आयल निगमले कुन घरमा कति सिलिन्डर छन् भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

उनले यस्तो प्रणाली विकास गर्न ठूलो चुनौती नरहेको भन्दै वर्तमान सरकारकै कार्यकालमा कार्यान्वयनमा ल्याउन आग्रह गरे। उनका अनुसार डिजिटल प्रणाली लागू भएपछि ग्यास वितरण थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बन्नेछ।

बैठकमा अन्सारीले भारतसँग प्रस्तावित एलपी ग्यास पाइपलाइन परियोजनालाई पनि प्राथमिकताका साथ अघि बढाउन सरकार सक्रिय हुनुपर्ने बताए।

भारतले विभिन्न समयमा परियोजनाप्रति चासो देखाए पनि कार्यान्वयनका लागि नेपाल सरकारले कूटनीतिक र प्राविधिक पहल तीव्र बनाउनुपर्ने उनको भनाइ थियो।

उनले भारतसँग समन्वय गरी पाइपलाइन निर्माणको स्पष्ट समयसीमा, भण्डारण क्षमता र कार्ययोजना सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

साथै ग्यास उद्योगहरूको सहकार्यमा हाउजिङ सोसाइटी तथा घना बस्तीमा सामूहिक ग्यास वितरण प्रणाली विस्तार गर्न पनि सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ