arrow

राष्ट्रिय सभा

बालेन हिटलर बन्न खोजेको महन्थको आरोप [भिडियो]

वर्तमान सरकारको कार्यप्रणालीले राज्यका हरेक संयन्त्रलाई भत्काउन खोजेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
mahantha-thakur-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र साह बालेनको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै प्रधानमन्त्री साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरे।

सरकारले सत्तामा आउनुअघि जनतालाई दिएका कुनै पनि आश्वासन र प्रतिबद्धताहरू पूरा नगरेको दाबी गर्दै उनले वर्तमान सरकारको कार्यप्रणालीले राज्यका हरेक संयन्त्रलाई भत्काउन खोजेको आरोप लगाए।

सांसद ठाकुरले प्रधानमन्त्री साहले कर्मचारी प्रशासनमाथि नियोजित प्रहार गरेको र दरबन्दीमा रहेका वैध कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए। राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, दलका झण्डा र फर्निचर जलाउने तथा राजनीतिक दल एवं नेताहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर थियो।

बैठकमा आक्रोश व्यक्त गर्दै ठाकुरले भने, “बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन्। दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्। यो सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठनहरूलाई समेत खारेज गरेको छ। यस किसिमले प्रत्येक अर्गनाइज्ड (सङ्गठित) संस्थालाई त उनले हेर्नै चाहँदैनन्। अर्गनाइजेसनलाई आक्रमण गरेर खत्तम पारेपछि उनले के गर्न खोजेका हुन्? आफूलाई के भन्ने ? नेपाली डिक्टेटर (तानाशाह), नेपाली हिटलर ! उनी नेपाली हिटलर भइसकेका छन्; उनी जे बोल्छन् त्यही ठीक हो, जे गर्छन् त्यही कानून हो भन्ने सोच्छन्। यस प्रकार देशलाई बर्बादीको धरातलतर्फ धकेलिँदै छ।”

मुलुकको आर्थिक अवस्था निरन्तर कमजोर बन्दै गइरहेका बेला सरकारको एकल भरमा मात्र शिक्षा र स्वास्थ्य क्षेत्र चल्न नसक्ने ठाकुरले स्पष्ट पारे। उनले हालैका दिनमा निजी विद्यालय (बोर्डिङ स्कुल) र निजी अस्पताल (नर्सिङ होम) हरूमाथि भइरहेको अव्यावहारिक कडाइ र बन्द गराउने नीतिले लाखौँ विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीको भविष्य अन्धकारमा धकेलिने चेतावनी दिए।

निजी क्षेत्रलाई निरुत्साहित गरिए यसको परिणाम भयावह हुने उल्लेख गर्दै उनले सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनभित्र रहेर काम गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ