काठमाडौँ । केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक हिलाम्मे हुने समस्याले यातायात सेवा प्रभावित भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा सडकमाथिबाट पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको कान्तिलोकपथ सडकखण्ड भने पहिरो पन्छाएपछि आज बिहानदेखि दुवैतर्फ सञ्चालनमा आएको छ। यद्यपि, वर्षायामको जोखिमलाई मध्यनजर गर्दै यो सडकखण्डमा बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको छ।
अन्य राजमार्गहरूको अवस्था भने अझै चुनौतीपूर्ण रहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग अत्यधिक हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ र प्रहरीले चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ स्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा ठूला ढुङ्गाहरू खसेर सडक पूर्ण रूपमा ठप्प बनेको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सडक विभाग र अन्य सरोकारवाला निकायहरूको समन्वयमा अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखिएको छ।