arrow

‘एक विद्यार्थी-एक रूख’ अभियान आजदेखि शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
tree-dhanusa.jpg

जनकपुर । धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा विद्यार्थीलाई वातावरण संरक्षणसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘एक विद्यार्थी-एक रूख’ अभियान आजदेखि शुरू गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मनिष झाको सचिवालयको पहलमा शुरू भएको अभियानअन्तर्गत पहिलो चरणमा पाँचदेखि सात हजार बिरुवा विद्यार्थीलाई वितरण गरिने भएको छ।

रास्वपा जनकपुरधामका नेता जितेन्द्र महासेठका अनुसार विगतमा वृक्षरोपण कार्यक्रम भए पनि बिरुवाको संरक्षणमा अपेक्षित सफलता नदेखिएकाले यस पटक प्रत्येक विद्यार्थीलाई एउटा बिरुवाको जिम्मेवारी दिने अवधारणासहित अभियान सञ्चालन गरिएको हो।

उनका अनुसार यसले वातावरण संरक्षणसँगै विद्यार्थीमा जिम्मेवारीबोध र प्रकृतिप्रतिको अपनत्वसमेत विकास गर्ने अपेक्षा गरिएको छ।

अभियानअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ३ का २२ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई बिरुवा वितरण गरिनेछ।

प्रत्येक विद्यालयमा हरियाली विस्तार गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको सचिवालयले जनाएको छ।

वन डिभिजन कार्यालयले अभियानका लागि निम, जामुन, तेजपातलगायतका विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराएको छ।

अभियानको शुभारम्भ जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका करिब एक हजार विद्यार्थीलाई बिरुवा हस्तान्तरण गरेर गरिएको हो।

आयोजकका अनुसार विद्यार्थीले आफैँले रोपेको बिरुवाको संरक्षण गर्ने भएकाले अभियानले दीर्घकालीन रूपमा हरियाली विस्तार र वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ