तीस हजार मेट्रिक टन युरिया मल बोकेको जहाज कोलकाता बन्दरगाहमा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
907
Shares
काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यअनुसार भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।
निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भए पनि मल आपूर्तिको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ। यसअघि हिजै नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि मात्र नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ भने २५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको छ। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र कृषकहरूको आवश्यकताअनुसार देशभर वितरण गरिने मन्त्रालयले स्पष्ट पारेको छ।