काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा. गोविन्द केसीले आजदेखि धनगढीबाट फेरि सत्याग्रह शुरू गर्ने घोषणा गरेका छन्। स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मागसहित उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भइरहेकाले त्यसलाई रोक्न आफू सत्याग्रह बस्न बाध्य भएको डा. केसीको भनाइ छ। सरकारले निजी मेडिकल कलेजमा लगानी भएका व्यक्तिलाई कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरेर यसको पुष्टि गरेको उनले आरोप लगाएका छन्।
विश्वविद्यालयमा हालै नियुक्त गरिएका उपकुलपति र रजिष्ट्रारलाई हटाएर स्वार्थ नबाझिने र चिकित्सा क्षेत्र बुझेको अनुभवी व्यक्तिलाई ल्याउनुपर्ने उनको प्रमुख माग रहेको छ। सरकारले गत असार ३१ गते शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्दलाई नियुक्ति गरेको थियो।
यसका साथै डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनमा भएका प्रावधानहरू कार्यान्वयन गरिनुपर्ने, र विगतका सरकारसँग भएका लिखित सहमतिहरू हुबहु कार्यान्वयन गरिनुपर्ने माग अघि सारेका छन्।
सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गरिनुका साथै भदौ २३ र २४ गतेको आन्दोलनमा भएका तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पनि उनले गरेका छन्। विकट क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य अधिकार कटौती गर्ने प्रयास भएकाले त्यसको खबरदारी आवश्यक रहेको उनको भनाइ छ।
यसअघि डा. केसीले दार्चुलाको व्यास क्षेत्रबाट सत्याग्रह सुरु गर्ने तयारी गरेका थिए। तर भारतीय सुरक्षा निकायले ५ दिनका लागि मात्रै व्यास क्षेत्र जाने अनुमति दिएको र स्वास्थ्यस्थितिका कारण नेपाली भूमि भएर पैदल जान सक्ने अवस्था नरहेकाले धनगढी फर्कनुपरेको उनले स्पष्ट पारेका छन्। दार्चुलामा केही दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विकट क्षेत्रका नागरिकलाई सेवा दिएर आफू धनगढी आएको उनले बताएका छन्।