काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी श्रद्धाका साथ मनाइँदैछ। नेकपा (एमाले) लगायत विभिन्न कम्युनिस्ट घटक तथा राजनीतिक दलहरूले पुष्पलालको योगदानको स्मरण गर्दै विविध कार्यक्रमहरू गरिरहेका छन्।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीको माइला छोराका रूपमा जन्मिएका पुष्पलाल महान सहिद गङ्गालाल श्रेष्ठका कान्छो भाइ हुन्। उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध ग्रन्थ ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। विभिन्न कृति र लेखमार्फत उहाँले नेपाली समाजको गहन वर्ग विश्लेषण गर्दै नेपाली वाम आन्दोलनलाई सैद्धान्तिक तथा वैचारिक दिशा प्रदान गरेका थिए।
पुष्पलालले विसं २००६ वैखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर ‘नेपाली प्रजातान्त्रिक सङ्घ’ समेत गठन गरेका थिए।
नेपाली राजनीतिक इतिहासमा पुष्पलालले सामन्ती तथा निरङ्कुश व्यवस्थाका विरुद्ध नेपाली कांग्रेस लगायतका प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था परास्त गर्नुपर्ने दुरदर्शी रणनीतिक विचार अघि सारेका थिए। नेपालको कम्युनिस्ट आन्दोलनलाई सङ्गठित, सैद्धान्तिक र बलियो बनाउन उहाँले लामो समय प्रवासमा बसेर पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेपाली वाम–प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।