arrow

फेवातालमा लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक प्रहरी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
phewatall-lapase.jpg

काठमाडौँ । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले चालकहरू लक्षित मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान सुरु गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटहरूमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो। पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको यस अभियानका क्रममा ३२ जना डुंगा चालकहरूको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइयो।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्दै उनले डुंगाबाट हुन सक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्डअनुसार व्यवसाय सञ्चालन भए-नभएको सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए।

फेवातालका विभिन्न आठवटा घाटहरूमा फेवा डुंगा व्यवसायी समितिसँग आबद्ध सात सयभन्दा बढी डुंगाहरू सञ्चालनमा छन्। मानवीय हेलचेक्र्याइँ र विभिन्न कारणले तालमा हुने दुर्घटनाहरू रोक्न प्रहरीले यसरी सक्रियता बढाएको हो।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस सुरक्षा अभियानलाई सकारात्मक रूपमा लिँदै स्वागत गरे। लागुऔषध सेवन गरेर डुंगा चलाउनु सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण हुने र यसले समग्र पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ थियो।

यद्यपि प्रशासनले साँझ ६ बजेपछि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरे। आफ्ना डुंगाहरू सुरक्षित रहेको दाबी गर्दै अध्यक्ष गिरीले चालक र लाइफ ज्याकेटबिना कुनै पनि पर्यटकलाई तालमा नपठाइने प्रतिबद्धता जनाए। 

साथै, व्यवसायी र प्रशासनबीच आपसी समन्वय गरी सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ