arrow

नेपालको नेदरल्याण्ड्स भ्रमण कमजोर, लगातार दुई खेलमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
nepal-cricket-team-america.jpg
तस्बिर : फाइल

काठमाडौँ । आसीसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल यतिबेला नेदरल्याण्ड्सको भ्रमणमा रहेको छ । त्रिकोणात्मक श्रृंखला खेल्न गएको नेपालले लगातार दोस्रो हार बेहोरेको छ । 

दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भयो । उट्रेच्टमा सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । यस शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवड्र्स ६१ रनमा अभिजित रहे । त्यस्तै  नोआ क्रोस ३४ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भयो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान दिए । सुरुआती ब्याट्सम्यान सस्तोमै आउट भएपछि नेपालले ठूलो योगफल बनाउन सकेन ।

'गर या मर' को श्रृंखलामा लगातार हार बेहोरेपछि 

गर या मरको श्रृंखलामा नेपालले लगातार लज्जास्पद हार बेहोरेपछि अब सिधै विश्वकप छनोट खेल्न पाउने सम्भावना लगभग सकिएको छ । श्रृंखला जित्दा नेपालको विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जिवितै रहने थियो । हारले केवल अंकगणितीय सम्भावना मात्रै हो । 

लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको नामिबिया २४ अंकबाटै छैटौँ स्थानमा छ । 

अब एक खेल जित्नासाथ नेपाल तल झर्नेछ । फेरि माथि जान नेपाललाई मुस्किल हुनेछ । २८ खेलबाट क्यानाडाको २४ अंक छ । पुछारको यूएईको १४ अंक छ । 

अमेरिका ३२ खेलबाट ४३ अंकसहित पहिलो, स्कटल्याण्ड ३२ खेलबाट ३८ अंकसहित दोस्रो तथा नेदरल्याण्ड्स ३४ अंकबाट तेस्रो स्थानमा छ । 

ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ । 

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपाल नेपाल अहिलेको लयमा जाँदा पछाडि धकेलिने सम्भावना प्रशस्त छ । अगाडि बढ्ने सम्भावना देखिँदैन । 

नेपाल अब सिधै विश्वकप छनोट खेल्न ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन नसके पनि कतै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि नजोगिने त हैन ? भन्ने प्रश्न पनि उब्जिएको छ । 

यसका लागि शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ। तर त्यो पर्याप्तताका लागि नेपालले कम्तीमा नामिबिया वा क्यानाडा भन्दा माथि रहनु पर्नेछ । 

यस शृङ्खलामा नेपालले साउन ११ गते सोमबार पुनः नामिबियासँग तथा साउन १३ गते फेरि नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ।

नेपाली टोलीले अघिल्लो हारको समीक्षा गर्न नसकिरहेको अवस्थामा अबका यी दुई खेलले नै नेपालको आगामी बाटो तय गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ