आर्थिक कूटनीति मजबुत बनाउन अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
395
Shares
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन अवैतनिक (मानार्थ) वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
काठमाडौँमा आयोजित मानार्थ वाणिज्यदूत कोर-नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवस कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकबीच सम्बन्धको सेतुका रूपमा सक्रिय भूमिका निर्वाह गर्न अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरे।
उनले नेपालमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग व्यावसायिक, सांस्कृतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्न मानार्थ वाणिज्यदूतहरूले उल्लेखनीय योगदान दिएको प्रशंसा गरे।
साथै, नेपालको राष्ट्रिय प्राथमिकता र विकासका आकांक्षासँग समन्वय गर्दै द्विपक्षीय साझेदारी थप सुदृढ बनाउन आग्रह गरे।
मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा तथा कानूनी संरचनालाई समयानुकूल परिमार्जन गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले वर्तमान सरकारले युवा पुस्ताको आकांक्षा र जनमतको म्यान्डेटअनुसार सुशासन तथा समावेशी आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेको बताए।
मन्त्री खनालले भने, "परराष्ट्र मन्त्रालय र अन्य सम्बद्ध निकायहरू नेपालको आर्थिक कूटनीति अघि बढाउन र आर्थिक साझेदारीलाई गहिरो बनाउन तपाईंहरूसँग नजिकबाट सहकार्य गर्न उत्सुक छन्। हाम्रो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्दै पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नु हो। सरकारको पहिलो वर्ष कानुनी तथा संस्थागत सुधारमा केन्द्रित हुनेछ।"
उनले अब नेपालको परराष्ट्र नीतिले आर्थिक रूपान्तरण, वैदेशिक लगानी आकर्षण, व्यापार विस्तार तथा नवप्रवर्तनलाई विशेष प्राथमिकता दिने बताए। विश्वव्यापी भूराजनीतिक तथा प्राविधिक परिवर्तनको वर्तमान अवस्थामा अवैतनिक वाणिज्यदूतहरूको अनुभव र सक्रिय सहभागिता अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय तथा घरेलु कानुनी व्यवस्थाको परिधिभित्र रही उच्च व्यावसायिकता, निष्ठा र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न सम्पूर्ण मानार्थ वाणिज्यदूतहरूलाई आह्वान गरे।