आर्थिक कूटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने सुरज वैद्य घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
325
Shares
काठमाडौँ। प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डीन चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत भोला थापा डीन थिए। सभाले पासाङ दावा शेर्पालाई भाइस डीनमा चयन गरेको छ।
डीनमा निर्वाचित भएपछि वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले एचसीसीएनलाई केवल एउटा ‘क्लब’का रूपमा नभई मुलुकको आर्थिक विकासमा योगदान दिने जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताए।
उनले वर्तमान सरकारले अघि सारेको आर्थिक कूटनीतिको अवधारणालाई सफल बनाउन सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता जनाए।
दक्षिण एशियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) न्यून रहेको उल्लेख गर्दै नेपाल सुरक्षित लगानी गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन एचसीसीएनले सक्रिय भूमिका खेल्ने बताए।
वैद्यले अवैतनिक वाणिज्यदूतप्रतिको सार्वजनिक धारणा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै संस्थाभित्र व्यावसायिक विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिए।
उनले वाणिज्यदूतहरूको भूमिका सुविधा वा ‘निलो नम्बर प्लेट’मा मात्र सीमित नरहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा उनीहरूले निर्वाह गरेको योगदान र नेपालले प्राप्त गरेको सम्मानबारे जनस्तरसम्म जानकारी पुर्याउनुपर्ने बताए।
उनले भने, ‘हाम्रो भूमिका केवल आलंकारिक मात्र होइन। हामी ६४ ओटा देशको प्रतिनिधित्व गर्छौं, जसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब सय ट्रिलियन डलर र विश्व जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्छन्। यो ठूलो शक्ति र अवसरलाई नेपालको हितमा प्रयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ। हामी सरकार, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका छाता संगठनहरू (एफएनसीसीआई, सीएनआई र चेम्बर अफ कमर्स) सँग नजिक रहेर काम गर्नेछौँ। निजी-सार्वजनिक साझेदारी नै देश अघि बढाउने मुख्य माध्यम हो।’
वैद्यले आफ्नो कार्यकालभित्र युरोपका विभिन्न देशमा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनका लागि ‘रोड शो’ आयोजना गर्ने लक्ष्य रहेको पनि बताए।
करिब छ दशकदेखि औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय वैद्य अर्गनाइजेसन टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो।
अटो व्यवसायसँगै समूहले सिमेन्ट, आतिथ्य (हस्पिटालिटी) लगायत विभिन्न क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ।