हरिशयनी एकादशी: घर-घरमा तुलसी रोप्ने परम्परापछि लुकेको धार्मिक रहस्य [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
206
Shares
काठमाडौँ। हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास छ। यही अवसरमा घर–घरमा तुलसी रोप्ने र त्यसको नियमित पूजा-आराधना गर्ने परम्परा रहिआएको छ।
यो परम्परा केवल तुलसीको पूजा मात्र नभई प्रकृतिप्रतिको सम्मान र संरक्षणसँग पनि जोडिएको छ। धार्मिक मान्यताअनुसार भगवान विष्णु योगनिद्रामा रहँदा उनको दिव्य शक्ति तुलसीमा आविर्भाव हुने विश्वास गरिन्छ।
हरिशयनी एकादशीमा रोपिएको तुलसीको चतुर्मासभर श्रद्धापूर्वक पूजा गरिन्छ भने हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने विश्वासका साथ तुलसी विवाह सम्पन्न गर्ने शास्त्रीय परम्परा रहेको छ।
उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले शास्त्रले निर्देश गरेका विधि, कर्म र आचारलाई श्रद्धापूर्वक पालन गर्नु नै धार्मिक परम्पराको मूल आधार रहेको बताए। उनले संक्रान्ति तथा अन्य पुण्यकालमा स्नान, शुद्धता, दान र धार्मिक आचरणको विशेष महत्व रहेको पनि बताए।
उनका अनुसार आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। यस वर्ष हरिशयनी एकादशी साउन महिनामा पर्नुको कारण चन्द्रमास र सौरमासबीचको अन्तर तथा अधिकमास रहेको उनले बताए।
उनले भने, ‘तुलसी रोप्ने प्रसंग पृथक् र महत्वपूर्ण छ। त्यसैले आषाढशुक्ल पक्षको एकादशी, जसलाई हरिशयनी एकादशी भनिन्छ, यस वर्ष साउनमा परे पनि मूलतः चन्द्रमास र सौरमास दुईवटा हुन्छन्। धार्मिक कर्महरूमा चन्द्रमासलाई आधार मानिन्छ। यो सौरमासअनुसारको महिना हो।’
यस वर्ष अधिकमास परेकाले हरिशयनी एकादशी साउनमा परेको बताउँदै उनले आगामी वर्ष भने यो पर्व पुनः असार महिनामै पर्ने बताए। उनका अनुसार चन्द्रमासमा एक अतिरिक्त महिना थपिँदा धार्मिक पर्वहरूको मितिमा यस्तो परिवर्तन देखिने गर्छ।
उनले भने, ‘चन्द्रमास र सौरमासमा थोरै अन्तर रहन्छ। यसपालि अधिकमास परेकाले एउटा अतिरिक्त चन्द्रमास थपियो। यही कारणले यो वर्ष तुलसी रोप्ने दिन साउन महिनामा पर्न गएको हो।’
उनका अनुसार आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी भनिन्छ। हरिशयनी भनेको भगवान विष्णु शयनमा जानु हो। धार्मिक मान्यताअनुसार श्रावण महिनादेखि देवताहरूको रात्रिकाल आरम्भ हुने भएकाले यस समयमा भगवान विष्णु पनि योगनिद्रामा जाने विश्वास छ।
निरौलाले हरिशयनी एकादशीदेखि हरिवोधिनी एकादशीसम्मको चार महिनालाई भगवान विष्णुको योगनिद्राको अवधि मानिने धार्मिक विश्वास रहेको बताए।
उनका अनुसार हरिशयनी एकादशीका दिन भगवान विष्णु शयनमा जानुहुन्छ र त्यसपछि चार महिनासम्म तुलसीको विशेष पूजा-आराधना गर्ने परम्परा छ।
उनले भने, ‘हरिशयनीदेखि हरिवोधिनीसम्मको चार महिनाको समय हुन्छ, जसमा भगवान विष्णु शयनमा रहनुहुन्छ। यही समयमा तुलसी रोपिन्छ र त्यसपछि तुलसीको नियमित आराधना गरिन्छ।’
उनले हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने धार्मिक मान्यता रहेकाले यही दिन तुलसी विवाह गर्ने शास्त्रीय व्यवस्था रहेको उल्लेख गरे।
उनले भने, ‘हरिशयनी एकादशीमा तुलसी रोपिन्छ। त्यसपछि यसको सेवा-पूजा गरिन्छ र हरिवोधिनी एकादशीमा तुलसी विवाह सम्पन्न गरिन्छ। यो शास्त्रीय परम्परा र व्यवस्था दुवै हो।’
उनका अनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ। हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशलाई क्रमशः सृष्टि, पालन र संहारका देवताका रूपमा स्वीकार गरिने भएकाले तुलसी र भगवान विष्णुबीच गहिरो धार्मिक सम्बन्ध रहेको उनको भनाइ छ।
उनले प्रत्येक एकादशीको आफ्नै धार्मिक महत्व रहेको बताए। विशेषगरी कामिका एकादशीलाई मनोकामना पूरा हुने विश्वाससँग जोडिएको उनले उल्लेख गरे।
त्यस्तै, हरिशयनीदेखि हरिवोधिनीसम्मको अवधिलाई चतुर्मासका रूपमा विशेष महत्वका साथ लिइने र यस अवधिमा व्रत, पूजा तथा भगवान विष्णुको आराधना गर्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए।
उनका अनुसार सबै एकादशीको धार्मिक महत्व समान भए पनि हरिशयनी एकादशी र हरिवोधिनी एकादशीलाई हिन्दू शास्त्रमा विशेष पर्वका रूपमा वर्णन गरिएको छ।