उपत्यकाका चार नारायणसहित देशैभरका मन्दिरमा भक्तजनको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
183
Shares
काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुर्व्यूह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भारी घुइँचो लागेको छ। धार्मिक मान्यताअनुसार आजैका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ।
उपत्यकाका चार प्रसिद्ध नारायण मन्दिरहरू—चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणमा आजको दिन र हरिबोधिनी एकादशीमा एकैदिन पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। यसै विश्वासका साथ टाढाटाढाबाट पनि भक्तजनहरू सवारी साधन रिजर्भ गरेर चार नारायणको दर्शन गर्न पुग्ने गरेका छन्। चार नारायणको दर्शन गर्न नसक्नेहरूले दरबारमार्गस्थित नारायणहिटीमा रहेको चतुर्व्यूह नारायण मन्दिरमा दर्शन गरेमा चारै नारायणको दर्शन गरे बराबरको फल मिल्ने मठाधीश राजेश्वरानन्द सरस्वतीले जानकारी दिएका छन्। यहाँ चारै नारायणको मूर्ति स्थापना गरिएको छ।
त्यस्तै, उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा पनि बिहानैदेखि ठूलो भीड लागेको छ। जहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति रहेको छ र यसलाई हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत उत्तिकै भीड लाग्ने गर्छ। दर्शनार्थीहरूको चापलाई मध्यनजर गर्दै बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति ३ बजेदेखि नै मन्दिरको ढोका खुला गरेको थियो। यसबाहेक नारायणटारस्थित नारायण मन्दिर, पशुपति क्षेत्र, हाँडीगाउँको सत्यनारायण मन्दिर, वसन्तपुरलगायत देशभरका विभिन्न नारायण मन्दिरहरूमा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ।
आजैदेखि नेपालीहरूले घरघरमा तुलसीको विशेष पूजा सुरु गरेका छन्, जुन कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिनसम्म जारी रहनेछ। चार महिनाको यो अवधिलाई ‘चतुर्मास’ भनिन्छ, जसमा धेरै भक्तजनहरू व्रत बस्ने र नारायण मन्दिरहरूमा चतुर्मास प्रवचन सुन्ने गर्दछन्।