विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने दुई सञ्चालक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
318
Shares
काठमाडौँ । विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’ का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा–५ पस्र्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेकामा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगरका मोहम्मद यासेर रहेका छन्। प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत महत्वपूर्ण सामग्रीहरू पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानबाट नेपाली नागरिकको नाममा दर्ता गरिएको उक्त कम्पनीको मुख्य योजनाकार भारतीय नागरिक रहेको खुलेको छ।
कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्ने प्रलोभन देखाएर ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो। प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाई किस्ताबन्दीमा अग्रिम रकम असुल्ने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरेर फरार हुने योजनासहित यो स्क्याम चलाइएको प्रहरीको दाबी छ।
छापा मार्ने क्रममा कार्यालयमा कार्यरत १५ जना युवतीहरूलाई समेत फेला पारिएकोमा उनीहरूलाई आवश्यक सोधपुछ गरी अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न अन्य दुई जना सञ्चालकहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।