लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका शक्तिको भविष्य लामो हुँदैन: शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
172
Shares
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ (पपुलिजम) र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको बताएका छन्।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाए। उनले कुनै पनि शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने विज्ञानको नियम रहेको बताउँदै नयाँ शक्तिहरूको पतन निश्चित रहेको दाबी गरे।
तर नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा ढुक्क भएर बस्न नहुने उनको तर्क थियो। उनीहरूको पतनपछिको भविष्यलाई सही दिशा दिन र जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूप्रति आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको उनले औँल्याए। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले एमालेका कार्यक्रमहरूमा पाका उमेरका अनुहार मात्र बढी देखिने गरेको उल्लेख गर्दै युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्तासमेत व्यक्त गरे।