सरकारले गोविन्द केसीको मागलाई छिट्टै सम्बोधन गर्ने लक्षण, दोस्रो दिनमै संवादको पहल
शिक्षा सचिव पौडेल धनगढीमा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव आइतबार पुग्ने
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
155
Shares
काठमाडौँ । सरकारले सत्याग्रही डा गोविन्द केसीका माग छिट्टै सम्बोधन गर्ने लक्षण ल्याएको छ । पहिले लामो समयसम्म अनसन बसेपछिमात्र सरकार तात्दै आएकामा यसपालि भने छिट्टै सम्बोधन गर्ने सम्भावना भएको हो ।
गत बिहीबारदेखि कञ्चनपुरको धनगढीमा आमरण अनसनरत रहेका डा केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्न शुक्रबारै टेलिफोन संवाद गरेको भन्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढी पुगेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिने क्रममा उनले लेखेका छन्, 'हिजो बेलुकै मैले डा. गोविन्द केसीज्यूसँग टेलिफोनमार्फत संवाद गरेको थिएँ। सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिवज्यू उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुग्नुभएको हो।'
मन्त्री पोखरेलले भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर संवादमा सहभागी हुने कार्यक्रम रहेको बताएका छन् ।
उनले भनेका छन्, 'सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध छ।
यसैबीच आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्थापछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखी धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि कठिनाइ उत्पन्न भएको छ।
यसअघि पनि सोही स्थानमा दुईपटक सत्याग्रह गरिसकेका डा. केसीले यस पटक पनि व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरु गरिएको बताए पनि समितिबाट अचानक पत्र आएपछि उनीहरू अप्ठ्यारोमा परेका छन् र अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन्।
धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले भने डा. केसीले साधारण कोठामा बस्ने भनेर जानकारी गराए पनि पूर्वजानकारी बिना अनसन नै सुरु गरेको र धार्मिक संस्थामा अनसन बस्न दिएको भन्दै चौतर्फी दबाब आउन थालेपछि ठाउँ छाड्न पत्र पठाइएको स्पष्ट पारेका छन्।
डा. केसीले सुदूरपश्चिमको कैलालीमा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने प्रमुख मागसहित सत्याग्रह सुरु गरेका हुन् । तर त्यहाँका स्थानीय नागरिकहरूले भने उनले विश्वविद्यालयको स्थापनामा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।