arrow

प्रदेश सरकारबारे कांग्रेसको रणनीति, सातै प्रदेशका नेतासँग सभापति थापाको परामर्श [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
indra-baniya-10-04.jpg

काठमाडौँ। नेपाली कांग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको नयाँ सत्ता समीकरणपछि उत्पन्न राजनीतिक अवस्थाबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा सातै प्रदेशका प्रदेश सभापति, संसदीय दलका नेता तथा कांग्रेस नेतृत्वका मुख्यमन्त्रीहरूसँग छलफल भएको हो।

बैठकमा प्रदेश सरकारको वर्तमान राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए।

उनका अनुसार प्रत्येक प्रदेशको राजनीतिक अंकगणित र दलहरूको अवस्था हेरेर सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा कांग्रेसले प्रदेशगत रूपमा निर्णय गर्नेछ।

मुख्यमन्त्री बानियाँले एमाले र नेकपाबीच भएको सहमतिपछि प्रदेश सरकारमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएकाले त्यसलाई मध्यनजर गर्दै कांग्रेसको आगामी रणनीतिबारे सभापति थापाले प्रदेश नेतृत्वसँग परामर्श गरेको बताए।

उनले लोकतन्त्र र संघीयतालाई स्वीकार गर्दै निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र आवश्यकताअनुसार सहकार्यको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए।

यता, बागमती, मधेस र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने अवस्था रहेकाले प्रदेश सरकार गठनका लागि अन्य दलहरूको समर्थन जुटाउने प्रयास तीव्र भएको छ।

कांग्रेसले पनि प्रदेशको राजनीतिक अवस्थाअनुसार एमाले र नेकपाबाहेकका दलहरूसँग सम्भावित सहकार्यबारे आन्तरिक छलफल र परामर्श अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ