विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
194
Shares
काठमाडौं । विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्रीहरू प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।
बोर्डले आज एक सूचना जारी गर्दै बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापनहरू प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायतका अनिवार्य विवरणहरू उल्लेख नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको पाइएको जनाएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम (५) तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार विज्ञापन बोर्डमा निहित रहेको छ।
बोर्डले नेपालमा प्रसारण हुने सम्पूर्ण श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापनहरू प्रसारण गर्नुपूर्व अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन तथा हालसम्म अनुमति नलिई प्रसारण भइरहेका विज्ञापन सामग्रीहरूलाई तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।
साथै, प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्रीहरूलाई तत्काल हटाउन भनिएको छ भने कानुनी व्यवस्थाको उल्लङ्घन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत बोर्डले दिएको छ।